तराई–मधेश घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न नेकपाको माग
चितवन, १५ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तराई–मधेशका विभिन्न क्षेत्रमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य समन्वय समितिको बैठकले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकासमेत छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा घटनाका कारण, झडप र त्यसक्रममा राज्य संयन्त्रको भूमिकाबारे निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह गरिएको छ।
नेकपाले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई राष्ट्रिय एकताको आधारका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा वर्तमान संवेदनशील परिस्थितिमा सरकारले अपेक्षित राजनीतिक संवेदनशीलता देखाउन नसकेको आरोप लगाउँदै संवाद, विश्वास निर्माण र समस्याको राजनीतिक समाधानतर्फ अग्रसर हुन आग्रह गरिएको छ।
पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय तथा संविधानले सुनिश्चित गरेका उपलब्धिलाई कमजोर पार्ने र सामाजिक द्वन्द्व भड्काउने गतिविधिप्रति सचेत रहन आमनागरिकलाई आह्वान गरेको छ। साथै विभाजनकारी प्रयासलाई असफल बनाउन लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ।
बैठकले पार्टीका सबै तहका समिति, नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल तथा संघसंस्थासँग समन्वय गर्दै संवाद, बैठक र सद्भाव र्याली सञ्चालन गरी सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।



















