पाल्पा विद्यालयमा ग्यास आगलागीमा घाइते बालिकाको उपचारकै क्रममा मृत्यु
चितवन, २१ साउन । पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।
एलकेजीमा अध्ययनरत ८ वर्षीया साजुदा बानुको बुधबार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
गत साउन ७ गते दिउँसो विद्यार्थीहरूले खाजा खाने क्रममा ग्यासको पाइप फुस्किँदा आगलागी भएको थियो। घटनामा घाइते भएकी बानुलाई सुरुमा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो।
चिकित्सकका अनुसार आगलागीबाट उनको करिब ३५ प्रतिशत शरीर जलेको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मंगलबारदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। घटनामा अन्य दुई विद्यार्थी भने सामान्य घाइते भएका थिए।






















