३० जिल्लाका स–साना नदीमा आज मध्यम बाढीको जोखिम, सतर्क रहन आग्रह
चितवन, २१ साउन । बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका ३० जिल्लाबाट बग्ने स–साना नदीहरूमा मध्यम जोखिमको बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तल रहेको छ।
आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यकाका तीन जिल्ला, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली लगायतका जिल्लाका स–साना नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले भोलि र पर्सी पनि सातै प्रदेशका केही स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।






















