विदेश जानु युवाको बाध्यता होइन, रोजाइ बन्नुपर्छ : विदुषी राणा
चितवन, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा उद्यमी विदुषी राणाले नेपाली युवाले विदेश जानुपर्ने अवस्था बाध्यता नभई रोजाइ बन्नुपर्ने बताएकी छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै राणाले नेपालमै पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू विदेशिन बाध्य भइरहेको बताइन्।
नेपालमा उद्योग, होटल, सूचना प्रविधि र अटोमोबाइललगायत क्षेत्रमा ठूलो सम्भावना रहे पनि नीतिगत जटिलता, कानुनी अवरोध र व्यवसाय सञ्चालनका कठिनाइका कारण त्यसको पर्याप्त उपयोग हुन नसकेको उनको भनाइ छ। उनले उद्योग तथा व्यवसायमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।
राणाले उद्योगको आवश्यकताअनुसार जनशक्ति उत्पादन हुन नसकेको भन्दै शिक्षा प्रणालीलाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिइन्। विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उद्योग, कारखाना, वर्कसप तथा उत्पादन केन्द्रमा व्यावहारिक ज्ञान र सीप हासिल गर्ने अवसर दिनुपर्ने उनको भनाइ छ।
अप्रेन्टिससिप र इन्टर्नसिपलाई प्रभावकारी बनाउँदै उद्योगलाई विद्यार्थी प्रशिक्षणका लागि सरकारले प्रोत्साहन तथा सहुलियत दिनुपर्ने उनले बताइन्। यसबाट उद्योगलाई आवश्यक जनशक्ति तयार हुने र विद्यार्थीले व्यावहारिक सीप हासिल गर्ने उनको तर्क छ।
युवालाई नेपालमै व्यवसाय सुरु गर्न सहज वातावरण बनाउन ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्नेमा पनि राणाले जोड दिइन्। व्यवसाय दर्ता, कर, अनुमति, वित्तीय स्रोतलगायतका प्रक्रियाका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
राणाले रोजगारी सिर्जना गर्ने उद्यमी र उद्योगीप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै सरकार व्यवसायीलाई नियमन गर्ने मात्र नभई सहजीकरण र प्रोत्साहन गर्ने भूमिकामा पनि देखिनुपर्ने धारणा राखिन्। रोजगार सिर्जना, निर्यात वृद्धि, आयात प्रतिस्थापन र देशभित्रै मूल्य अभिवृद्धि गर्ने उद्योगलाई प्राथमिकताका साथ प्रोत्साहन गर्नुपर्ने उनले बताइन्।























