क्रिकेट खेलाड़ी कुन्दनलाई इन्जिनियर एन्ड नर्स फेसबुक ग्रुपद्वारा आर्थिक सहयोग
काठमाडौ,३२ साउन
महोत्तरी जिल्लाको फुलहट्टा निवासी क्रिकेटर कुन्दन सिंहको दुवै मृगौलामा समस्या उत्पन्न भएपछि इन्जिनियर एन्ड नर्स फेसबुक ग्रुपले आर्थिक सहयोग संकलन गर्दै १२ हजार ४७४ रुपैयाँ जुटाएका छन् ।

कुन्दन सिंह, राष्ट्रिय क्रिकेटमा चर्चित नाम हो । राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट यू–१९ बाट दर्जनौं क्रिकेट प्रतियोगिता खेलिसकेका छन् उनले । तर, २४ वर्ष नपुग्दै कुन्दनले अहिले जीवन र मृत्यसँग संघर्ष गर्नुपरिरहेको छ ।
क्रिकेटको क्षेत्रमा राष्ट्रका लागि योगदान दिने धोको बोकेका कुन्दनको मिर्गौलाले काम गर्न छोडेको छ । क्रिकेट मैदानमा घन्किएर दौडिने कुन्दनलाई घरको ओछ्यानमात्र सहारा बनेको छ । निको भएर फेरि मैदानसम्म पुगेर क्रिकेट खेल्ने कुन्दनको धोको अहिले पनि उस्तै छ ।
महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनले सानै छँदा आमा–बाबु गुमाइसकेका छन्। मामाको हेरचाहमा छन् कुन्दन । चिकित्सकले कुन्दनको मिर्गौला फेर्नुपर्ने बताइसकेका छन्। तर, त्यसको लागि आर्थिक अभाव भोग्नुपरेको छ उनले ।
तत्काल डायलासिसमा राखिएको छ उनलाई। साताको दुईपटक डायलासिस गर्न गाउँबाट १२ ÷ १३ किलोमिटर गाडी चढेर प्रादेशिक अस्पताल जनकपुर आउनु परिरहेको छ ।
जीवन मृत्युसँग लडाइँ गरिरहेको कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदिएपछि जिल्ला क्रिकेट संघ धनुषा अघि सरेको छ । जिल्ला क्रिकेट संघले कुन्दनको उपचारका लागि आर्थिक गर्न सबैसँग अपील गरेको छ । र, संघको अपीलपछि अर्थ संकलनको काम पनि अघि बढेको छ ।






















