सार्वजनिक कार्यक्रममा राष्ट्रपतिले पाइन्टमा मुते, भिडियो भाइरल भएपछि ६ पत्रकार पक्राउ
दक्षिण सुडानका राष्ट्रपतिले आफ्नो पाइन्टमा पिसाब गरेको भिडियो भाइरल भएपछि छ जना पत्रकारलाई पक्राउ गरिएको छ । राष्ट्रिय गीत गाइरहेका बेला भएको उक्त घटनाको फुटेज ती पत्रकारहरूले नै भाइरल बनाएको हुन सक्ने आशंकाका आधारमा नियन्त्रणमा लिइएको हो । पत्रकारहरूलाई हिरासतमा लिएको भन्दै अन्तर्राष्ट्रिय संगठनले आपत्ति जनाएका छन् ।
७१ वर्षीय राष्ट्रपति साल्भा किरको यो भिडियो क्लिप एक आधिकारिक कार्यक्रमको हो । साल्भा किर भिडियोमा राष्ट्रिय गीतका लागि उभिएका छन् । यसैबीच, उनको पाइन्ट अचानक खुट्टासम्म भिज्छ । त्यसपछि क्यामेरा अचानक टाढा जान्छ । किरको उक्त भिडियो भाइरल भइरहेको छ ।
त्यसपछि, दक्षिण सुडानको राष्ट्रिय सुरक्षा सेवाका अधिकारीहरूले सरकारी च्यानल साउथ सुडान ब्रोडकास्टिङ कर्पोरेशन (एसएसबीसी) का छ जना पत्रकारहरूलाई पक्राउ गरेका हुन् । अधिकारीहरूले उक्त फुटेज यी पत्रकारहरूले जारी गरेको हुन सक्ने आशंका गरेका छन् ।
पत्रकारको हितमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) ले ती पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ । संगठनका अधिकारीहरूका अनुसार अफ्रिकी देशहरूमा जब अधिकारीहरूलाई समाचार आफूले चाहे अनुसार नभएको महसुस हुन्छ, तब पत्रकारहरूलाई पक्राउ गर्छन् ।
पक्राउ पर्नेमा कन्ट्रोल रुमका निर्देशक जोभाल टोम्बे, क्यामेरा अपरेटर तथा प्राविधिक भिक्टर लाडो, क्यामेरा अपरेटर जोसेफ ओलिभर र ज्याकोब बेन्जामिन, क्यामेरा अपरेटर तथा प्राविधिक मुस्तफा उस्मान र कन्ट्रोल रुमका प्राविधिक चेरबेक रुबेन रहेका छन् ।
किरको यो भिडियो गत महिना सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा राष्ट्रपतिको अवस्था देखेर उनको स्वास्थ्य अनि गरिबी र भोकले ग्रस्त दक्षिण सुडान चलाउने उनको क्षमतामाथि प्रश्न उठेको छ ।
तर, अधिकारीहरूले उनको स्वास्थ्यबारे उठेका प्रश्नहरूलाई सधैँ टाल्दै आएका छन् । सन् २०११ मा स्वतन्त्र भएदेखि दक्षिण सुडानमा किरले शासन गर्दै आएका छन् । किरले पदभार ग्रहण गरेपछि देशमा कहिल्यै निर्वाचन भएको छैन । तर, पहिलो निर्वाचन सन् २०२४ मा हुने तय भएको छ ।



















