यी भारतीय महिला जसले आफ्नो जुँगा शानसँग पाल्छिन्
जुँगा राख्ने एक भारतीय महिलाले अनलाइनमा मानिसहरूबाट प्रशंसा र आलोचना दुवै पाएकी छन्। तर उनले आफ्नो अनुहारको कपालबारे चासो राख्ने मानिसहरूबाट उनलाई केही फिक्री नभएको बताउँछिन्।
“मलाई मेरो जुँगा असाध्यै मन पर्छ,” ३५ वर्षीय शिजाले आफ्नो फोटोको तलतिर ह्वाट्सएप स्टेटसमा लेखेकी छन्। उनी भन्छिन्, “मलाई मेरो जुँगा साह्रै मन पर्छ, म त्यति मात्र भन्न सक्छु।”
शिजा आफ्नो नामको पछाडि थर जोड्दिनन्। उनी दक्षिण राज्य केरलाको कानपुर जिल्लामा बस्छिन्। उनको ओठमाथि रौँ उम्रिएको धेरै वर्ष भइसक्यो।
जुङ्गाबारे उनको विचार
उनले आफ्ना आँखीभौँ त थ्रेडिङ गरेर मिलाउँछिन् तर आफ्नो ओठमाथिका रौँ फाल्न उनले कहिल्यै आवश्यक ठानिनन्। करिब पाँच वर्षअघि उनको जुँगा बाक्लिँदै गयो र त्यसबाट हर्षित शिजाले त्यसलाई पाल्ने विचार गरिन्।
“म यो बिना बाँच्ने कल्पना अहिले गर्दिनँ। जब कोभिड महामारी सुरु भयो मलाई मास्क मन परेन किनभने त्यसले मेरो मुख पुरै छोप्थ्यो,” उनी भन्छिन्। उनीसँग भेट हुने धेरैले जुँगा फाल्न सुझाव दिए तर शिजाले मानिनन्।
“मेरो जुँगा भएका कारण म नराम्री भएकी छु भन्ने महसुस गर्दिनँ र जुँगा मसँग हुनु हुँदैन भन्ने पनि लाग्दैन।”
— बीबीसीबाट



















