३६ वर्षपछि टेस्टमा घरेलु मैदानमा न्यूजिल्याण्डसँग भारतकाे हार
चितवन, ०४ कार्तिक । न्युजिल्यान्डविरूद्धको पहिलो टेस्टमा घरेलु टोली भारत पराजित भएको छ । बेंगलुरूमा भारतले दिएको १०७ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्दै न्युजिल्यान्डले ८ विकेटको जित निकालेको हो ।
टेस्टमा ३६ वर्षपछि भारत घरेलु मैदानमा न्युजिल्याण्डसँग पराजित भएको हो । पछिल्लो पटक भारतले सन् १९८८ मा वानखेडे स्टेडियममा हारेको थियो । यो हारपछि टीम इन्डिया ३ खेलको सिरिजमा ०-१ ले पछि परेको छ । सिरिजको दोस्रो खेल २४ देखि २८ अक्टोबरसम्म पुणेमा हुनेछ ।
टेष्ट खेल १६ अक्टोबरबाट सुरु भएको थियो । तर वर्षाका कारण पहिलो दिन खेल हुन सकेन । दोस्रो दिन रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । पहिलो इनिङ्समा भारतीय टोली ४६ रनमा अलआउट भएको थियो । ३१.२ ओभर मात्र खेलेको भारतका लागि ऋषव पन्तले सबैभन्दा बढी २० रन र ओपनर यशस्वी जैसवालले १३ रन जोडे । अरु नौं ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतले घरेलु मैदानमा टेस्ट क्रिकेटमा बनाएको यो सबैभन्दा कम स्कोर हो। भारत पहिलो इनिङग्समा ४६ रनमै अलआउट हुँदा दोस्रो इनिङग्समा ४६२ रन जोडेर पनि बलियो लक्ष्य प्रस्तुत गर्न सकेन ।
न्युजिल्यान्डका लागि पहिलो इनिङ्ग्समा रचिन रविन्द्र १३४ रन र डेवन कनवेले ९१ रन बनाएका थिए। बलिङमा भारतका कुलदिप यादव र रविन्द्र जडेजाले ३-३ विकेट लिए । भारतका लगि दोस्रो इनिङग्समा सर्फराज खानले १५० रन बनाएका थिए। ऋषव पन्त ९९ रनमा आउट हुँदा रोहित शर्माले ५२ रन जोडेका थिए ।
























