खैरहनीमा उपचारको क्रममा बिरामीको मृत्यु ,चौधरी पोलिक्लिनिकमा तोडफोड
चितवन , ५ कार्तिक । पुर्वीचितवनको खैरहनी स्थित चौधरी पोलिक्लिनिकमा उपचारको क्रममा एक विरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि स्थानीयले पोलोक्लिनिकमा तोडफोड गरेका छन् ।
खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पोलिक्लिनिकमा उपचारको क्रममा खैरहनी नगरपालिका वडा नम्बर ५ डेरा गरि बस्ने ४१ वर्षिय तुलसी कार्कीको मृत्यु भएको हो । पेट र छातीमा समस्या भएर केहिदिनयता नियमित उपचार गराउदै आएकी उनको सोमबार बेलुका मृत्यु भएको हो ।
उनलाई भरतपुर जान रिफर गरेर पटक पटक भरतपुर जान आग्रह गर्दा समेत विरामीले घरायसी समस्या देखाउदै त्यही औषधि गर्न आइरहेको पोलिक्लिनिकका संचालक हरि चौधरीले बताए । सोमबार अपराह्न आउदा स्वासप्रवासमा गार्हो देखिएपछि एक्सरे गरिएको डा जीवन चौधरीले बताए । एक्सरे गरेपछि विरामीले पानी पिएको त्यसपश्चात विरामीलाई गाह्रो भएको र सिपिआर गर्दा गर्दै उनको मृत्यु भएको डा चौधरीले बताए ।
जनप्रतिनिधि , परिवारको सदस्य , पोलिक्लिनिक संचालक र स्थानीयसंग छलफल पश्चात् आज विहान करिव ३ बजे मृतकको शव भरतपुर अस्पताल पठाइएको छ ।


















