चितवनको राप्तिमा खोलाबाट अवैध उत्खनन,प्रहरीलाई जिम्मा लगाएको ग्राबेलनै चोरी,प्रहरीकै मिलेमतोको आशंका
चितवन , १९ साउन । पुर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ८ स्थित दुधकोशी खोलाबाट धमाधम अवैध उत्खनन भएको छ । दुधकोशी खोलाबाट अवैध रुपमा ग्रावेल निकाल्दा समेत स्थानीय प्रशासन मौन देखिएको छ । खोलाबाट अवैध उत्खनन गरेर आफुहरुको जग्गामा डम्पिङ गरेको देखेपछि ईलाका प्रहरी कार्यालयलाई खबर गरेर स्थलगत रुपमै अवैध ग्रावेल राखेको स्थान देखाएको तर भोलिपल्ट सो ग्रावेल उत्खनन गर्नेहरुले लगेको जग्गाधनी गुणराज श्रेष्ठले बताए । प्रहरीलाई नै देखाएको स्थानबाट ग्रावेल स्थानीय सरकार वा प्रशासनले जफत नगरेको तर राती फेरि उक्त स्थानबाट ग्राबेल तस्करहरुले लगेको घटनाले प्रहरीप्रति नै आशंका उब्जाएको छ । अवैध खोला उत्खनन , चोरी निकासी नरोकिदा खोलासंगैको आफुहरुको जग्गामा समेत हानिनोक्सानी भएको हरिकृष्ण खनालले बताए । खोला छेउमा मेसिननै लगाएर ग्रावेल , माटो झिक्दा आफुहरुको जग्गा समेत खोलामा झर्दै गएको उनले गुनासो गरे ।
पटक पटक खोलामा अवैध उत्खनन भएको , चोरी निकासी भएको विषयमा ईलाका प्रहरी कार्यालय भण्डाराले खासै चासो नदेखाएको उल्टै जनशक्ति अपुग छ , कता कता भ्याउने , नगरपालिकाले नगर प्रहरी राखेर नियन्त्रण गर्नु भन्दै ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक रुपेश विष्टले गैरजिम्मेवार जवाफ दिएको राप्ती ८ का वडा सदस्य तथा कार्यबाहक वडा अध्यक्ष दिपक अधिकारीले बताए । प्रहरीले चासो नदिएपछि खोलाबाट अवैध रुपमा ग्रावेल निकाल्दै गरेको अवस्थामा आज आफैले एउटा ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको उनले बताए । प्रहरीको उदासिनताले प्रहरीमाथिनै आशंका उब्जाएको छ ।
यसविषयमा बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख रुपेश विष्ट गैरजिम्मेवार तवरले एकाएक झर्किदै मलाई सोध्ने होइन जिल्लामा सोध्नुस् भन्दै जवाफ दिन चाहेनन् । उनको शैलीले उनिमाथी थप प्रश्न उब्जाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरिले अवैध उत्खनन नियन्त्रण गर्न स्थानीय सरकारको समन्वय र सहयोग आवश्यक रहेको भन्दै प्रहरी पनि लागिरहेको बताए । ग्राबेल जफत र कारबाही गर्ने अधिकार स्थानीय सरकारलाई भएको भन्दै समन्वय र सहजीकरण आवश्यक रहेको बताए । ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक विष्टको कार्यशैली र उनिमाथि उब्जिएको आशंकाको विषयमा प्रहरीले जिम्मेवार शैलीमा आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै अवैध उत्खनन नियन्त्रण गर्न कडाइको साथ काम गर्न निर्देशन दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले बताए । दायाँबायाँ तलमाथि नगरी नियमानुसार काम गर्न निर्देशन दिएको उनले प्रष्ट पारे ।
भिडियो
https://youtu.be/D_8H94pzB4w?si=AvDG95yZteMSBu8X
https://www.facebook.com/share/v/1GNrC7cJ1F/
फोटो



















