मदन भण्डारी फाउण्डेशन पार्टीले बनाएको होइन : अध्यक्ष ओली
चितवन, २६ साउन । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पारेका छन् । सोमबार मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने उनको भनाइ थियो ।
‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । अरु प्रतिष्ठानहरू पनि हामीले, पार्टीले बनाएका छौँ । कतिपय पार्टीले गर्दछ, कतिपय व्यक्तिका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो खालको परिपाटी छ । त्यो हुनु हुँदैन । हाम्रा संस्थाहरू एकदमै सामूहिक संस्था हुनुपर्छ । मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । आफैं बनाएको हो ।’
प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने स्पष्ट पारे । उनले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे ।


















