नेपाल साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा पराजित
चितवन, १३ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा तीन विकेटले पराजय व्यहोरेको छ।
बिहीबार नेपालले निर्धारित गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर पुरा गर्यो। साउथ अस्ट्रेलियाका विन्टरले ३६, होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १४६ रन बनाएको थियो। नेपालका भीम सार्कीले ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन जोडे।
साउथ अस्ट्रेलियाका थोम्पसन, ब्राउन र मेनेन्टीले दुई-दुई विकेट लिए भने म्याकफाडेन र मेन्जिसले समान एक विकेट हात पारे।
नेपालले आजै साउथ अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल खेल्नेछ। यसअघि मंगलबार नेपालले क्रिकेट एसीटीविरुद्ध दुई अभ्यास खेलमा क्रमशः ४१ रन र ६ विकेटको जित हासिल गरेको थियो।






















