कञ्चनपुरमा व्यापक तोडफोड आगजनी, २७ कार्यालय, १२ घर र १६ सवारीसाधन जले
चितवन,२७ भाद्र । जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा सरकारी, राजनीतिक, निजी तथा व्यापारिक क्षेत्रका संरचनामा ठूलो मात्रामा तोडफोड र आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक दलका कार्यालय, १२ नेताकार्यकर्ता र जनप्रतिनिधिका निजी निवास, चार वटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा क्षति पु¥याइएको हो।
सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, विभिन्न इलाका प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर र भीमदत्त नगरपालिकासहितका कार्यालयमा आगजनी र तोडफोड गरी कागजपत्र, फर्निचर र अन्य सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ।
राजनीतिक दलका कार्यालयमध्ये एमाले, माओवादी केन्द्र र कांग्रेसका पाँच कार्यालयमा क्षति पु¥याइएको छ भने निवर्तमान गृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगर प्रमुख पदम बोगटीलगायत १२ जना नेताकार्यकर्ताको घरमा समेत आगजनी र तोडफोड गरिएको छ।
व्यापारिक क्षेत्रमा होटल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा तोडफोड, आगजनी र लुटपाट भएको छ। यस्तै, पुनर्वास नगरपालिकाका प्रमुख चढ्ने गाडी, शववाहन, दमकल, मोटरसाइकल, स्कुटर, ट्याक्टर र रोलरसहित १६ वटा सवारीसाधनमा क्षति पुगेको छ।
कारागारबाट भागेकामध्ये १२४ कैदी फिर्ता आन्दोलनकै क्रममा कञ्चनपुर कारागारबाट भागेका कैदीमध्ये हालसम्म १२४ जना फिर्ता भएका छन्। प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका ४७९ कैदीमध्ये बिहीबार मात्रै १०३ जनालाई नियन्त्रणमा लिएर फिर्ता गरिएको हो।
कारागारमा ४५३ पुरुष र २६ महिला गरी ४७९ कैदीबन्दी रहेका थिए। तीमध्ये सबैभन्दा बढी १६९ जना लागुऔषध सम्बन्धी मुद्दामा सजाय काटिरहेका थिए।

















