आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु
चितवन, ०७ असोज । कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदैछ। यसअघि भदौ २८ र २९ गते तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक भएपछि सारिएको हो। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार, पूरक परीक्षा आज र भोलि दुई दिन सञ्चालन हुनेछ।
पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१) को परीक्षा हुनेछ। साथै, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषयको परीक्षा पनि आजै हुनेछ। दुई विषयका परीक्षार्थीका लागि आफूले दिने विषयहरूमध्ये सानो कोड भएको विषयको परीक्षा आज हुनेछ। तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने विद्यार्थीहरूले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।
बुधबार भने दुई विषयका परीक्षार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। यस दिन अनिवार्य अंग्रेजीको परीक्षा हुने छैन, किनकि अंग्रेजीको परीक्षा पहिलो दिन (७ गते) नै तोकिएको छ। सबै विषयको परीक्षा बिहान ११ बजेदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।





















