एमालेको विशेष कार्यक्रम आज गुण्डुमा, अध्यक्ष ओलीले गर्ने सम्बोधन
चितवन, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरको गुण्डुमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन्। भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा महासचिव शंकर पोखरेलसहित अन्य नेताहरू पनि सहभागी हुनेछन्। पूर्वप्रधानमन्त्री ओली हाल जेनजी युवा आन्दोलनको क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछिको घटनापछि भक्तपुरको गुण्डुमा बस्दै आएका छन्। आन्दोलनमा दमनकारी नीति अपनाइएको आरोपसहित युवाहरूले ओलीको पक्राउ र कारबाहीको माग प्रहरीमा उजुरी दिएका थिए।
साथै, उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्न दबाब दिइएको छ। जेनजी युवा आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीलाई सरकारको अनुमति बिना काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको छ।
उक्त कार्यक्रममार्फत अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिती र नेता–कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे स्पष्ट पार्ने अपेक्षा गरिएको छ। यसैले ओलीले आज सहभागी हुने कार्यक्रम र उनका सम्बोधनमा विशेष चासो राखिएको छ।



















