जेन जी आन्दोलनपछि एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु
चितवन, २९ असोज । जेन जी आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुँदैछ । बैठक तीन दिनसम्म चल्नेछ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति, जेन जी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तिमा भएका तोडफोडका घटना लगायतका विषय समेटिनेछन् । साथै, अलोकतान्त्रिक ढंगले अन्तरिम सरकार गठन, असंवैधानिक रूपमा संसद विघटन र त्यसका प्रभावबारे पनि प्रतिवेदनमा उल्लेख हुनेछ ।
प्रतिवेदनमा सरकारले निर्वाचन नगर्ने भ्रम फैलाएको, दलहरूसँग संवाद नगरेको र त्यसले गर्दा निर्वाचनको वातावरण कमजोर बनेको विषय पनि उठाइने गौतमले जानकारी दिए ।
बैठकमा पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्नेछ । सो महाधिवेशनमार्फत ‘फ्रेस म्यान्डेट’ लिएर जनतामाझ जाने निर्णय हुने बताइएको छ । साथै, लोकतन्त्रको रक्षा र संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै आन्दोलन तथा जनपरिचालन कार्यक्रम घोषणा गर्ने तयारी पनि एमालेले गरेको छ ।
बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न इच्छुक केन्द्रीय सदस्यहरूलाई क्रमवार रूपमा बोल्ने अवसर दिने व्यवस्था गरिएको छ । अल्फाबेटिकल आधारमा बोल्ने पालो तय गरिएको र प्रत्येक सदस्यलाई तीन मिनेटको समय तोकिएको पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।



















