२५ उद्योगको लाइन काटिँदा प्राधिकरणको दैनिक ६ करोड आम्दानी गुम्यो, ४० हजार रोजगारी संकटमा
चितवन, ११ कार्तिक । नेपाल विद्युत प्राधिकरणले सोमबार साँझसम्म २५ वटा उद्योगको बिजुली लाइन काटेको जनाएको छ। ती उद्योगहरूले लाइन काटिनु अघि दैनिक करिब २५० मेगावाट बिजुली उपभोग गर्दै आएका थिए। लाइन काटिएपछि सम्बन्धित उद्योगहरूले कामदारहरूलाई बिदामा पठाएका छन्। ती २५ उद्योगले दैनिक बिजुली खपतबापत सरकारले करिब ६ करोड रुपैयाँ राजस्व प्राप्त गर्दै आएको प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेका अनुसार, उद्योगहरूको लाइन काटिँदा प्राधिकरणको दैनिक ६ करोड आम्दानी रोकिएको छ र २५० मेगावाट बिजुली खेर गएको छ। उनका शब्दमा, “२५ उद्योगहरूको बिजुली काटिँदा ४० हजारभन्दा बढी रोजगारी जोखिममा परेको छ, जसले राज्यको ठूलो राजस्व हानि गराएको छ।”
प्राधिकरणका अनुसार, विद्युत् काटिएका ती २५ उद्योगले अहिले पनि करिब पाँच अर्ब ४८ करोड ४५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ।




















