आज सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै
चितवन, १२ कार्तिक । प्रतिनिधि सभा निर्वाचनको वातावरण तयार गर्न सरकारले आयोजना गर्दै आएको सघन वार्ता र समन्वय प्रक्रियामा यसपटक जेनजी पुस्तालाई पनि समावेश गर्न लागेको छ । यस उद्देश्यका लागि सरकारले आज (बुधबार) पहिलोपटक राजनीतिक दल र जेनजी समूहसँग त्रिपक्षीय छलफल गर्नु हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे तय गरिएको बैठकमा दुवै पक्षलाई सहभागी हुन निमन्त्रणा गरिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार आगामी निर्वाचनको माहोललाई सहज र सकारात्मक बनाउने उद्देश्यले सरकारले राजनीतिक दल र सरोकारवाला समूहहरूसँग निरन्तर संवाद अघि बढाइरहेको छ। सोहीक्रममा पहिलोपटक जेनजी पुस्तासँग पनि संयुक्त छलफल गर्न लागिएको हो।
यसअघि ४ कात्तिकमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्ने सहमति बनेको थियो। त्यसपछि पनि विभिन्न तहमा परामर्श र संवाद जारी छन्। सरकारको अपेक्षा छ— लामो समयपछि सुरू भएको यस्तो औपचारिक राजनीतिक संवादले आगामी निर्वाचनको समग्र वातावरण सकारात्मक बनाउने छ।



















