निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ : प्रधानमन्त्री कार्की
चितवन, १५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य भएको बताउनुभएको छ।
शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग मुलुकको वर्तमान राजनीतिक स्थिति, निर्वाचन तयारी र सरकारका कार्यगत प्राथमिकताबारे भएको छलफलमा प्रधानमन्त्री कार्कीले यो कुरा बताउनुभयो।
उहाँले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारले अधिकतम प्रयास गरिरहेको र परिस्थितिहरू क्रमशः सकारात्मक बन्दै गएको जानकारी दिनुभयो। साथै, हालै जेनजी र राजनीतिक दलबीच भएका छलफलहरूले पनि वातावरण सहज बन्दै गएको उहाँको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले सबै पक्षलाई विश्वासमा लिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरी नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने आफ्नो मनसाय रहेको उल्लेख गर्नुभयो। सुशासन कायम राख्ने र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख लक्ष्य रहेको स्पष्ट गर्दै उहाँले राजनीतिक दलहरूको उत्साहपूर्ण सहभागिता सुनिश्चित गरेर आगामी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो।
स्वयं असहज परिस्थितिमा सरकारको नेतृत्व लिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आलोचनाबाट नडराई जिम्मेवारीपूर्वक कार्य गर्ने दृढता व्यक्त गर्नुभयो।
उक्त छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पनि उपस्थिति थियो।
						  
					
    



























