मधेशका निजी अस्पतालमा स्वास्थ्यकर्मीको आन्दोलन, सेवाग्राही समस्यामा
चितवन, १६ कार्तिक । मधेश प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन्।
स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा श्रमशोषण भइरहेको भन्दै ८ बुँदे माग अघि सारेर आन्दोलन सुरु गरेका हुन्। उनीहरूका अनुसार लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य छन्।
उनका प्रमुख मागमा नेपाल सरकारको नियमअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करारकर्मी हटाई लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने तथा हप्तामा अधिकतम ४२ घण्टा मात्रै कामको सीमा तोक्नुपर्ने लगायतका माग समावेश छन्।
स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार मन्त्रालयले पटक–पटक सूचना जारी गरे पनि निजी अस्पतालहरूले त्यसको पालना नगरेकाले आन्दोलन गर्न बाध्य भएका हुन्। “हाम्रो मनोबल घटाउने खालका निर्णय भइरहेका छन्, त्यसैले अधिकारका लागि सडकमा उत्रिएका हौँ,” उनले बताए।
स्वास्थ्यकर्मीहरूले जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो गरेका छन्।
आन्दोलनका कारण मधेश प्रदेशका विभिन्न निजी अस्पतालहरूमा सेवा प्रभावित भएका छन्। उपचारका लागि आएका सेवाग्राहीहरू समस्या झेल्न बाध्य भएका छन्।
						  
					
    



























