पहिरोका कारण मुस्ताङको कागबेनी–कोरला सडक अवरुद्ध
चितवन, १६ कार्तिक । निरन्तर वर्षापछि मुस्ताङको कागबेनी–कोरला सडकखण्डका विभिन्न १० स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहीबार रातिदेखि परेको लगातार वर्षाले लेदोसहितको बाढीले सडकका संरचनामा गम्भीर क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो। उहाँका अनुसार कागबेनीदेखि छुसाङसम्मका प्रत्येक खोल्सामा बाढी र पहिरोका कारण सडक संरचना भत्किएका छन्।
सडक खुलाउन उपकरण परिचालन गरिएको भए पनि तत्काल सञ्चालनमा ल्याउन नसकिने उहाँको भनाइ छ। वर्षाले सडकसँगै स्थानीय सञ्चार सेवा पनि प्रभावित भएको छ।
वारागुङ मुक्तिक्षेत्र–३ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार कागबेनी–ताङ्वे सडकखण्डका चारभन्दा बढी स्थानमा पहिरो खसेर आवागमन रोकिएको छ। ताङ्वे खोलामा आएको लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको र करिब ५० मिटर सडक भासिएको बताइएको छ।
त्यसैगरी, ताङ्वेदेखि छुसाङ खण्डसम्म पनि अविरल वर्षाले सडकका पर्खाल र फिलिङ भागहरू भत्किएका छन्। वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैलै सडकमा ३५ मिटरभन्दा बढी सडक पहिरोले भत्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो।
शनिबार प्रजिअ भुसालसहित सुरक्षाकर्मीको टोलीले कागबेनी–छुसाङ सडकखण्डको स्थलगत अवलोकन गरेको छ। सडक पुनः सञ्चालनका लागि तीनवटा भारी उपकरण परिचालन गरिएको छ। साथै, कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले पनि अतिरिक्त स्रोतसाधन परिचालन गर्ने जनाएको छ।
वारागुङ–४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङका अनुसार सडक संरचना धेरै ठाउँमा ध्वस्त भएकाले सडक खुल्न केही दिन लाग्ने अनुमान छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक हाल अवरुद्ध रहेकोले तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यसअघि बिहीबार रातिको अविरल वर्षाले जोमसोम–कागबेनी सडकखण्ड पनि अवरुद्ध भएको थियो। तर स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी शुक्रबार बिहान सडक सञ्चालनमा ल्याइएपछि मुक्तिनाथ जान चाहने दर्शनार्थीलाई सहज भएको जनाएको छ।
						  
					
    



























