चुनावी सरगर्मी बढ्यो: लाखौं नयाँ मतदाता र राजनीतिक दल थपिँदै
चितवन, २६ कार्तिक । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि चुनावी तयारी तीव्र रूपमा अघि बढेको छ।
यसै क्रममा नयाँ मतदाता दर्ता र राजनीतिक दल थपिने क्रमले गति लिएको छ। निर्वाचन आयोगका अनुसार, मतदाता नामावली संकलन अभियानमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने निर्वाचन घोषणापछि २१ वटा नयाँ दलले दर्ताका लागि आवेदन दिएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मंगलबारसम्ममा २ लाख ९ हजार ५२२ नयाँ मतदाता थपिएका हुन्, जसमा १ लाख २२ हजार ७४० पुरुष, ८६ हजार ७८५ महिला र २७ जना अन्य रहेका छन्। गत असोज ९ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य यही कात्तिक ३० गतेसम्म जारी रहनेछ। नाम दर्ताका लागि नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई बायोमेट्रिक विवरण दिनुपर्नेछ।
आयोगले नामावली दर्तामा देखिएको भीड व्यवस्थापन गर्न, आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा नहुने नागरिकलाई निर्वाचनपछि हुने दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।
काठमाडौँ उपत्यकाजस्ता बढी चाप भएका जिल्लाहरूमा दैनिक १२ घण्टा (दुई सिफ्टमा) सेवा प्रवाहको व्यवस्था मिलाइएको छ।
यसैगरी, निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि निवेदन दिएसँगै आयोगमा दर्ता भएका कुल दलको संख्या १२५ पुगेको छ। पछिल्लो समय ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’, ‘श्रम संस्कृति पार्टी’ र ‘गतिशील लोकतान्त्रिक पार्टी’ नयाँ दलका रूपमा थपिएका छन्।
आयोगले स्पष्ट पारेअनुसार, निर्वाचनमा भाग लिनका लागि सबै दलले निर्वाचन प्रयोजनका लागि पुनः छुट्टै दर्ता गर्नुपर्नेछ। आयोगले आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म दल दर्ताका लागि समय तोक्नेछ।
निर्वाचनको समग्र तयारी र सरकारसँगको समन्वयका विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीहरूबीच छलफल हुँदैछ। छलफलमा विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने कानुनी र प्राविधिक पक्षबारे पनि परामर्श हुने बताइएको छ।
























