प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट
चितवन, २६ कार्तिक । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आफ्नो अनिवार्य अवकाशको पूर्वसन्ध्यामा आज प्रधानमन्त्रीसँग बिदाइ भेट गर्नुभएको छ। सरकारले उहाँको उत्तराधिकारीका रूपमा दानबहादुर कार्कीलाई ३३ औँ आईजीपीमा नियुक्त गरिसकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आईजीपी खापुङले आफ्नो कार्यकालभरि सरकारबाट प्राप्त सहयोगका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो। भेटमा प्रधानमन्त्रीले खापुङको सफल कार्यकालको प्रशंसा गर्दै उहाँको सुखद अवकाश जीवनको शुभकामना व्यक्त गर्नुभयो। बिदाइ भेटका लागि आईजीपी खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीलाई साथमा लिएर सिंहदरबार पुग्नुभएको थियो।
प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण आईजीपी खापुङ यही कात्तिक २६ गते मध्यरातबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको स्थानमा दानबहादुर कार्कीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
























