वीरगंजमा बेवारिसे सुटकेसको बम हल्लाले बजार आतंकित, सेनाले डिस्पोज गर्यो
चितवन, २७ कार्तिक । बुधबार साँझ वीरगंज महानगरपालिका–२, छप्कैयास्थित बिर्यानी हाउसअगाडि भेटिएको एक बेवारिसे सुटकेसले बजारमा आतंक मच्चायो। काम सकेर घर फर्कँदै गरेका स्थानीयबासी समेत त्रसित बनेपछि वीरगंजको जनजीवन केही समयका लागि प्रभावित भयो।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, साँझ करिब ५ बजे खैरो रङको सुटकेस बेवारिसे अवस्थामा फेला परेपछि प्रहरी बिट छप्कैयाबाट हबल्दार रञ्जनराज पाण्डेको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। सुटकेस शंकास्पद देखिएपछि स्थानलाई तत्काल सुरक्षा घेराभित्र राखेर वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा थप टोली परिचालन गरिएको थियो।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाको विशेष बम डिस्पोजल टोली वीरगंजबाट घटनास्थलमा पुगेको थियो। सेनाको सात सदस्यीय टोलीले सुटकेसलाई सुरक्षित तरिकाले नष्ट (डिस्पोज) गरेको जनाएको छ।
परीक्षणपछि सुटकेसभित्र कुनै विस्फोटक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ। यद्यपि, बमको हल्लाले केही समय वीरगंज बजार त्रसित बनेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ र कसैले जानाजानी आतंक फैलाउने प्रयास गरेको हो कि भन्ने विषयमा खोजी भइरहेको जनाएको छ।



















