कांग्रेस गण्डकी प्रदेशको सिफारिस– मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने माग
चितवन, ३० कार्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन मंसिर महिनाभित्रै नियमित रूपमा सम्पन्न गर्न केन्द्र नेतृत्वलाई सिफारिस गरेको छ। पोखरामा आज बसेको प्रदेशस्तरीय भेलाले सर्वसम्मत रूपमा निर्णय गर्दै मंसिरभित्र महाधिवेशन गर्न आग्रह गरेको प्रवक्ता माधवप्रसाद बाँस्तोलाले जानकारी दिए।
यदि सोही समयमा नियमित महाधिवेशन गर्न नसकिए विधानअनुसार विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्षसमेत भेलाले केन्द्रमा सिफारिस गरेको छ। प्रदेशका ११ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको भेलाले भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवा र उहाँकी पत्नीमाथि भएको आक्रमणप्रति कडा आपत्ति जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति शुक्रराज शर्माले बदलिँदो राजनीतिक परिवेशमा पार्टीको १५औँ महाधिवेशन अझै आवश्यक भएको बताए। नियमित महाधिवेशनले मात्र पार्टी सुदृढ भएर जनतामाझ विश्वसनीय बन्ने उल्लेख गर्दै उनले कांग्रेसले जनतालाई मालिक मानेर सेवामा समर्पित हुनुपर्नेमा जोड दिए।
























