धनगढी उपमहानगरद्वारा ३ हजार १०० भन्दा बढी सर्प उद्धार
चितवन, ०१ मंसिर । कैलालीको धनगढी उपमहानगरपालिकाले दुई वर्ष ३ महिनाको अवधिमा तीन हजार एक सय बढी सर्पको उद्धार गरेको छ ।
उपमहानगरले सुरु गरेको सर्प उद्धार कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न प्रजातिका ३ हजार एक सय ११ सर्पको उद्धार गरी वनजंगल आसपासको सुरक्षित ठाउँमा छाडिएको हो । समयमै सर्पको उद्धार हुन थालेपछि त्रसित बन्नुपर्ने वातावरण नरहेको स्थानीयको भनाई छ ।
धनगढी उपमहानगरपालिकाले सर्प दंशबाट ज्यान जाने घटना धेरै हुन थालेपछि सर्प उद्धार कार्यक्रम सुरु गरेको हो । सर्प उद्धार सम्बन्धी तालिम प्राप्त उपमहानगरका नगर प्रहरीले घरभित्र पसेका र सार्वजनिक स्थानमा देखा पर्ने सर्पको उद्धार गरी सुरक्षित ठाउँमा छाड्ने गरिएको छ ।
सर्पको बिगबिगी हुने गरेको तराई क्षेत्रमा उपमहानगर प्रहरीलाई जानकारी प्राप्त हुने बित्तिकै नगर बासीको घर र सार्वजनिक ठाउँमा उद्धार टोली खटिने गरेको छ । उद्धार गरिएका सर्पलाई वन कार्यालयका कर्मचारीको रोहवरमा बस्ती भन्दा कम्तीमा ५ किलोमिटर टाढा वन क्षेत्र आसपास सुरक्षित हुने गरी छाड्ने गरिएको उपमहानगरका बिपद् शाखा प्रमुख दीपक भण्डारी बताउनुभयो ।
धनगढीमा पछिल्लो समय सर्पका कारण त्रसित बन्नुपर्ने वातावरण नरहेको स्थानीयको भनाई छ । घरमा विषालु सर्प देखिएपछि बालबच्चा बोकेर छरछिमेकमा हारगुहार गर्नुपर्ने अवस्था रहेकोमा नगर प्रहरीले फोन गर्ने बित्तिकै सर्प उद्धार गर्न थालेपछि ढुक्कले बस्न पाएको धनगढीकी सिर्जना परियारले बताउनुभयो ।
उद्धारमा खटिने तालिम प्राप्त नगर प्रहरीहरूका अनुसार अहिलेसम्म उद्धार गरिएका गोमन, करेत र भाइपर जस्ता विषालु र धामन, पानी सर्प लगायत प्रजातिको सङ्ख्या बढी छ । यस्तै कमन कोब्रा, ब्ल्याक कोब्रा, करेत, भाइपर, किंग कोब्रा र अंजीगरको उद्धार गरिएको छ । उद्धार गरिएका सर्पलाई वन कार्यालय कर्मचारीको रोहवरमा वन क्षेत्रमा छाड्ने गरिएको छ ।
























