दिवंगत पत्रकार सुरेश रजककी पत्नीलाई सरकारले रोजगारी दियो
चितवन, ०२ मंसिर । सरकारले दिवंगत पत्रकार सुरेश रजकको परिवारलाई सहयोगस्वरूप रोजगारीको व्यवस्था गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा पत्रकार रजककी पत्नी सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटर पदमा नियुक्त गरिएको हो।
मंगलबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खरेल, सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुजन मगियालाई नियुक्ति पत्र हस्तान्तरण गरे। पत्रकार सुरेश रजकको २०८१ चैत १५ गते तीनकुनेमा भएको आन्दोलनको घटनामा भिडभाड र आगजनीकै बीच समाचार कैद गर्ने क्रममा निधन भएको थियो।
कार्यक्रममा मन्त्री खरेलले पत्रकारहरू खबर संकलनका क्रममा निरन्तर जोखिममा रहने भएकाले राज्यले अभिभावकको भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। उनले पत्रकार रजकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढेको उल्लेख गर्दै, परिवारका सदस्यलाई निःशुल्क उच्च शिक्षा प्रदान गर्नेतर्फ पनि पहल गर्ने प्रतिवद्धता जनाए।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले सुजन मगियालाई कानुनी प्रक्रिया पूरा गरेर कम्प्युटर अपरेटरको रूपमा रोजगारी दिइएको बताए।
दिवंगत रजकका आफन्त पुरुसोत्तम मगियाले रजकको निधनको न्यायका लागि दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन, सहिद घोषणा गर्न तथा तीनकुनेमा स्मारक (सालिक) निर्माण गर्न सरकारसँग आग्रह गरे।
रजकका परिवारले सहिद घोषणा, सालिक निर्माण, रोजगारीको सुनिश्चितता र घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन्।



















