नेप्सेमा सामान्य गिरावट: परिसूचक ४.९८ अंकले झर्यो
चितवन, ०३ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४.९८ अंकले घटेर २,५६१.०८ बिन्दुमा झरेको छ। नेप्सेमा सामान्य गिरावट देखिए पनि कारोबारको मात्रा उल्लेख्य रह्यो।
आज ३३८ कम्पनीका ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ५० हजार ६२६ पटक किनबेच हुँदा कुल रु ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ बराबरको कारोबार भएको एक्सचेञ्जले जनाएको छ।
होटल तथा पर्यटन, उत्पादन तथा प्रसोधन, सामूहिक लगानी र व्यापार समूहबाहेक बाँकी सबै उपसूचकमा गिरावट देखियो।
आजको व्यापारमा माबिलुङ्ग एनर्जी, दरमखोला हाइड्रो, सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुँगल हाइड्रो, सान्भी इनर्जी, झापा इनर्जी र बन्दीपुर केबलकार एन्ड टुरिजम को शेयरमा पोजिटिभ सर्किट लागेको छ।
उता, सबैभन्दा धेरै मूल्य घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक अग्रस्थानमा रह्यो। कारोबार रकमको आधारमा भने वरुण हाइड्रोपावर शीर्षमा रहँदै आज मात्र रु २७ करोड ४० लाख ४४ हजार ४२१ बराबरको कारोबार सम्पन्न गर्यो।






















