रवि लामिछाने–छविलाल जोशीको मुद्दा फेरि स्थगित
चितवन, ११ मंसिर । सुप्रिम सहकारी संस्थाका रकम ठगी तथा संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित गरिएको छ। उनीहरूको मुद्दा न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त ३ नं इजलासमा तोकिएको थियो।
बिगोअनुसारको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने आग्रहसहित रवि लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका छन्। आजको सुनुवाइ स्थगित गर्न लामिछानेका कानूनी प्रतिनिधिले निवेदन दिएपछि सुनुवाइ रोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
यसअघि पनि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पेशी परेकाले बुटवल इजलासको सुनुवाइ स्थगित गर्न निवेदन परेको थियो, जसपछि त्यस दिनको सुनुवाइ समेत स्थगित भएको थियो।




















