फागुन २१ मा हुने निर्वाचनप्रति इनरुवा–३ का मतदाता उत्साहित, विकास मुख्य एजेण्डा
चितवन, १६ मंसिर । सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते गर्ने घोषणा गरेको छ। सरकारले निर्वाचनका सबै तयारी अघि बढाइसकेको छ भने शान्ति–सुरक्षाका लागि सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। राष्ट्रपति मार्फत सेनाको समेत स्वीकृतिपछि निर्वाचन सुरक्षा व्यवस्थामा थप तयारी भएको छ।
निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू भीत्री तयारीमा व्यस्त छन्। सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा उम्मेदवारबारे चर्चा सुरु भएका छन्। सुनसरी क्षेत्र नं. ४ अन्तर्गत इनरुवा नगरपालिका–३ का मतदाताहरू आगामी फागुन २१ को मतदानमा उत्साहपूर्वक सहभागी हुने तयारीमा रहेका छन्।
स्थानीय मतदाता मुसनी सदाका अनुसार आफूहरू मतदान गर्न आतुर भए पनि पहिलो प्राथमिकता विकास निर्माण र समृद्धि हो। उनले निर्वाचित प्रतिनिधिले जनताको चाहना र स्थानीय समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता दोहोर्याइन्।
इनरुवा–३ को सदा बस्तीका स्थानीयले हाल दूषित पानी, सडक तथा बत्तीको अभाव, सार्वजनिक शौचालय नहुँदा हुने समस्याले दैनिक जीवन प्रभावित भएको गुनासो गरेका छन्। खट्टर सदाले जनप्रतिनिधिले यी समस्या समाधानमा ध्यान नदिएको भन्दै यस पटक विश्वास गर्न सकिने व्यक्तिलाई मात्र मतदान गर्ने बताए।
इनरुवा नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि सदा बस्तीमा बालबालिकामै खुला स्थानमा दिसापिसाब गर्न बाध्य रहेको स्थानीयको भनाइ छ। चुनावी समयमा मात्र मत माग्न आउने तर जितेपछि नफर्किने नेताप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूले यस पटक प्रतिवद्धता पुरा गर्ने व्यक्तिलाई प्राथमिकता दिने बताएका छन्।
स्थानीयले विपन्न समुदायका नाममा राजनीति गरिए पनि चुनावपछि समस्यातर्फ कोही नफर्किएको आरोप लगाएका छन्। इनरुवा–३ का विजय सदाका अनुसार, स्थानीय तहको चुनावमा विजयी भएका नेपाली कांग्रेसका केदार भण्डारी चुनावपछि एकपटक पनि बस्तीमा नफर्किए, जसका कारण अब मतदाताले जनहितमा काम गर्ने प्रतिनिधि छान्नुपर्ने आवश्यकता छ।
























