प्रधानमन्त्री कार्की : सार्कलाई थप गतिशील र कार्यमुखी बनाउन नयाँ संकल्प आवश्यक
चितवन, २३ मंसिर । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्दै अझ गतिशील, समावेशी र कार्यमुखी बनाउन नयाँ संकल्प आवश्यक रहेको बताएकी छिन्। सार्कको ४१औँ चार्टर दिवसका अवसरमा सदस्य देशका सरकार तथा जनताप्रति शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भई क्षेत्रीय चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनआकांक्षा पूरा गर्न सकिने उल्लेख गरिन्।
“झण्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गरेका थिए। उनीहरूको सामूहिक दूरदृष्टिकै परिणामस्वरूप सार्कको जन्म भयो—एक यस्तो मञ्चका रूपमा, जसले क्षेत्रीय सहयोग बढाउने, मित्रता सुदृढ गर्ने र जनकल्याणमा योगदान पुर्याउने लक्ष्य राख्दछ,” प्रधानमन्त्री कार्कीको सन्देशमा उल्लेख छ।
उनका अनुसार विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र क्षेत्रभर जीवनस्तर सुधारका उद्देश्यसहितका पहल अघि बढाउन महत्वपूर्ण मञ्चका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ। खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता जटिल चुनौतीहरू सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने र साझा क्षेत्रीय पहिचानलाई सुदृढ गर्ने दिशामा सार्क चार्टरले निरन्तर मार्गदर्शन दिएको उनले उल्लेख गरिन्।
सार्कका हालका अध्यक्षको रूपमा नेपालले चार्टरमा समेटिएका सिद्धान्तअनुसार मित्रता, एकता र सहमतिको भावनामा रहँदै सबै सदस्य राष्ट्रसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको प्रधानमन्त्री कार्कीले बताइन्। उनका अनुसार संयुक्त प्रयासले साझा विकासका लक्ष्यतर्फको प्रगति तीव्र बनाउन सकिने र यस क्षेत्रमा बसोबास गर्ने विश्व जनसङ्ख्याको एक चौथाइलाई ठोस लाभ पुर्याउन सकिनेछ।
प्रधानमन्त्री कार्कीले यो चार्टर दिवसले सबैमा नयाँ प्रतिबद्धता, गहिरो सहकार्य र क्षेत्रीय एकताको पुनर्जीवित भावना जगाओस् भन्ने कामना व्यक्त गरिन्।
सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा चार्टरमा हस्ताक्षरसँगै भएको हो। अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्र यस क्षेत्रमा समावेश छन्। सार्क सचिवालय १७ जनवरी १९८७ देखि काठमाडौँमा अवस्थित छ।
सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूको बैठक सार्कको सबैभन्दा उच्च निर्णय–निर्माण तह हो। शिखर बैठकहरू सामान्यतया दुई वर्षको अन्तरालमा वर्णानुक्रमअनुसार सदस्य राष्ट्रले आयोजना गर्ने प्रचलन छ। सम्मेलन आयोजना गर्ने राष्ट्रले सो अवधिमा संगठनको अध्यक्षता पनि सम्हाल्छ।
हालसम्म सार्कका १८ शिखर सम्मेलन सम्पन्न भइसकेका छन्। १८औँ शिखर सम्मेलन २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौँमा भएको थियो। यता त्यसपछि भने शिखर सम्मेलन आयोजना हुन सकेको छैन। द्विपक्षीय तथा विवादास्पद विषयलाई संगठनको छलफलबाट बाहिर राख्ने र सबै तहका निर्णयहरू सर्वसम्मतिले गर्ने प्रणाली सार्क चार्टरका मूल विशेषतामा पर्दछन्।



















