महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार: मेयर बालेन
चितवन, २९ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिइरहेको जानकारी दिएका छन्।
महानगरपालिकाको ३१औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्रमा विस्तार गरिएको र नागरिकबाट संकलित राजस्वलाई नागरिककै सामूहिक हितमा प्रयोग गर्ने नीति अपनाइएको बताएका छन्। उनले महानगरको कार्यसम्पादन र प्रगतिबारे कार्यक्रममा जानकारी दिए।
प्रमुख शाहका अनुसार, महानगरले धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न गरेको छ र ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएको छ। पाँच हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती जडान गरेर रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ।
गत आर्थिक वर्षमा रु दुई अर्ब ८६ करोडको पूर्वाधार योजना सम्पन्न भएको र ९१ करोड लागतमा सम्पदा संरक्षणका काम गरिएका छन्, जसमा २७६ मूर्त सम्पदा र १२५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएका छन्।
महानगरले हालसम्म रु २३ अर्ब बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरेको छ। आगामी दिनमा रु दुई खर्ब बराबरको १ हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखिएको प्रमुख शाहले बताए।
उनले ‘एक वडा–एक कार्यक्रम’ सञ्चालन गरेर स्थानीय स्रोतसाधन र सीपको अधिकतम प्रयोग गर्दै रैथाने सीपलाई आयमा रूपान्तरण गर्न पनि जोड दिएका छन्।
प्रमुख शाहले आर्थिक, सामाजिक र पूर्वाधार विकास, सुशासन र प्रशासनिक सुधारलाई महानगरका नियमित कार्यक्षेत्रको रूपमा देखाएका छन्। उनले काठमाडौँको सांस्कृतिक पहिचानलाई जोगाउन, सहरी स्वच्छता र सरसफाइलाई विस्तार गर्न र एकीकृत पूर्वाधार विकासमार्फत सेवा प्रवाहलाई सहज र चुस्त बनाउने कार्यमा ध्यान केन्द्रित गरिएको बताए।
महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकता दिँदै कार्यान्वयन गरेको उनले जानकारी दिए। स्वास्थ्यतर्फ, एक हजार ८६ विपन्न नागरिकलाई उपचारका लागि सिफारिस गरिएको, २१० जनाको नि:शुल्क उपचार गरिएको र ३२ वडामा ३५ स्वास्थ्य संस्था र जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ।
विद्युतीय शासनका अन्तर्गत इ-सिफारिस र इ-कार्यालय प्रणाली पनि कार्यान्वयन गरिएको छ। १५२ आगलागीका घटनासँगै १४३ जोखिमयुक्त रुखको व्यवस्थापन गरिएको छ।
सहरी योजना आयोगले १६४ योजनाको विस्तृत डीपीआर तयार गरेको छ र रु ६ अर्ब ३३ करोड ५८ लाखको लागत अनुमान भएका २५१ योजनामा बोलपत्रमार्फत रु एक अर्ब २३ करोडको बचत गरिएको छ।
“महानगरमा कल सेन्टर र हेलो सरकारमार्फत प्राप्त नौ हजारभन्दा बढी गुनासामध्ये अधिकांश फछ्र्यौट गरिएका छन्,” प्रमुख शाहले भने। साथै, ३० हजार ३२३ ज्येष्ठ नागरिकलाई मासिक रु चार हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए।
प्रमुख शाहले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनबाट काठमाडौँमा बसोबास गर्ने सबै महानगरवासीलाई गर्व महसुस हुने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे। उनले यसका लागि संघ, प्रदेश, विकास साझेदार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यको अपेक्षासमेत व्यक्त गरे।



















