एमाले महाधिवेशन: उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा
चितवन, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाल)को ११औं राष्ट्रिय महाधिवेशनको क्रममा विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
भृकुटीमण्डपस्थित मिडियासेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उम्मेदवारहरू फारम भरी दर्ता गर्न व्यस्त रहेको जानकारी दिँदै आज अपराह्न ३:३० बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको बताए।
गौतमका अनुसार, निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९:३० बजेदेखि उम्मेदवारको फारम वितरण र दर्ता प्रक्रिया सुरु भएपछि, संशोधनसहित आज दिउँसो १ बजेदेखि ३:३० बजेसम्म उम्मेदवारी दर्ता गर्नको लागि समय थप गरिएको छ। उनले भने, “उम्मेदवारी दर्ता उत्साहजनक ढंगले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार भइरहेको छ। साथीहरू उत्साहित भएर निर्वाचनमा भाग लिन चाहिरहेका छन्।”
उम्मेदवारीको शुल्कसम्बन्धी जानकारी दिँदै उनले भने, अध्यक्ष पदका लागि रु १५ हजार, उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारीका लागि रु १० हजार र केन्द्रीय सदस्यका लागि रु ५ हजार तोकिएको छ। उम्मेदवारी फारमको शुल्क भने रु १०० तोकिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार, भोलि मङ्गलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ, नेता गौतमले जानकारी दिए।



















