नबिल बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न
चितवन, ०२ पुष । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को बाँडफाँट सम्पन्न गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट गरिएको बैंकले जनाएको छ। नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार शेयरको अन्तिम बाँडफाँट गरेको हो।
संस्थागत लगानीकर्तालाई परिपत्र विधि (व्यक्तिगत तवर) मार्फत प्रस्ताव आह्वान गरी प्राप्त आवेदनअनुसार अग्राधिकार शेयर बाँडफाँट गरिएको बैंकले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपछि यस प्रकारको अग्राधिकार शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गर्ने पहिलो बैंक नबिल बनेको हो।
अविमोच्य असञ्चिति अग्राधिकार शेयर निश्चित भुक्तानी अवधि नतोकिने तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश पाउने पुँजी बजार उपकरण हो। यस उपकरणको जारीसँगै अतिरिक्त प्राथमिक पुँजीमार्फत बैंकको पुँजीगत आधार मजबुत भई जोखिम वहन क्षमता बढ्ने र व्यवसाय विस्तारमा सहयोग पुग्ने बैंकको विश्वास छ।
नबिल बैंक नेपालको अग्रणी बैंकमध्ये एक हो। बैंकले देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्दै बैंकिङ विकासको इतिहासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।



















