कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
चितवन, ११ पुष । नेपाली कांग्रेसको महाधिवेशनको विवाद फेरि चर्किएको छ, र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा आयोजना हुनेछ।
कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले आगामी १६ दिनमा क्रियाशील सदस्यताको काम पूरा गर्नुपर्ने र त्यसपछि वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको तयारी गरेर सिधै केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्।
महामन्त्री शर्माले भने, “नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयन मात्र होइन, सकारात्मक सन्देश दिनु पर्छ। अहिले हामी महाधिवेशनमा केन्द्रित छौँ, तर जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव सम्भव छैन। सरकारलाई यसका लागि वातावरण बनाउनुपर्छ। चुनाव फागुनमा नभइ वैशाखमा गर्नु उचित हुनेछ।”
उनले पार्टीका संस्थागत निर्णयहरू सबैले मान्नुपर्ने र महाधिवेशनको मिति केही दिन हेरफेर हुन सक्ने संकेत पनि दिएका छन्।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने, “पार्टीका विषयलाई अतिरञ्जित गरेर सार्वजनिक गर्नु भन्दा बैठकमा राखेर छलफल गर्नु उपयुक्त हुनेछ। हामीले कसैलाई दोष दिने कुरा छैन। सभापतिले कार्यवाहक सभापतिलाई सम्पूर्ण अधिकार दिएका छन्, र महामन्त्रीलाई क्रियाशील सदस्यताको व्यवस्थापन गर्ने अधिकार पनि विधानले दिएको छ। अब समय निर्धारण गरेर अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन कुनै कठिनाइ छैन। त्यसपछि महाधिवेशन सहज रूपमा अघि बढ्छ।”
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सानेपा स्थित केन्द्रीय कार्यालयमा चलिरहेको छ। बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव लगायतका नेताहरूले आफ्नो धारणा प्रस्तुत गरिसकेका छन्।



















