आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु, शालीनदीमा माधवनारायण मेला
चितवन, १९ पुष । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाको अवधिमा विभिन्न शक्तिपीठमा विशेष पूजा–आराधना गर्ने परम्परा छ। सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको वास रहेको धार्मिक विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ। यही विश्वासअनुसार आजदेखि वैदिक सनातन धर्मावलम्बीहरूले घर–घरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत तथा स्वस्थानी कथा वाचन आरम्भ गरेका छन्।
पौष शुक्ल चतुर्दशीका दिन हात–खुट्टाका नङ काटी स्नान गरेर शुद्ध वस्त्र धारण गरी स्वस्थानी व्रतको सुरुआत गरिन्छ। व्रतालुहरूले बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा गर्छन्। साँझपख स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यमा आधारित कुमार र अगस्त्यबीचको संवाद रहेको स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने चलन छ। कुल परम्पराअनुसार कतै बिहान त कतै बेलुकी कथावाचन गरिन्छ।
एक महिनासम्म विधिपूर्वक व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न प्रकारका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूरा होस् भनी भगवतीलाई अर्घ्य अर्पण गरिन्छ। चढाइएका प्रसादमध्ये आठ–आठ भाग पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने चलन छ। यस्ता कोही नभएमा नजिकको पवित्र नदीमा प्रवाह गरिन्छ।
व्रतको अन्तिम दिन व्रतालुले सय रोटी फलाहार स्वरूप ग्रहण गरी रातभर जाग्राम बस्ने परम्परा छ। जाग्रामका क्रममा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसरी व्रत सम्पन्न गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। आफ्नै स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त मानिने भएकाले ‘स्वस्थान’ अर्थात् आत्मासँग सम्बन्ध जोड्ने अभ्यासलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय विशेष शुभ मानिन्छ।
स्कन्द पुराणअनुसार स्वस्थानी देवी सुनौलो वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रामा कमल तथा सिंहासनमा आसीन, चार हात भएकी देवी हुन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार देवीको पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा रहेको उल्लेख पुराणमा गरिएको छ।
विधिपूर्वक स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोग–व्याध निको हुने तथा इच्छाएको वर वा वधू प्राप्त हुने जनविश्वास प्रचलित छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले विष्णुको निर्देशनअनुसार महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको कथा स्वस्थानी व्रत कथामा वर्णित छ। साथै, बिछोडमा परेका नाग–नागिनीको पुनर्मिलन भएको कथासमेत यसै व्रतसँग जोडिएको छ।
इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिले बताएको विधिअनुसार व्रत गर्दा पुत्रवियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथा पनि स्वस्थानीमा उल्लेख छ।
यसै अवसरमा आजदेखि एक महिनासम्म काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी भेगमा रहेको साँखुस्थित शालीनदीमा माघ स्नानसहित माधवनारायण मेला सुरु हुँदैछ। माघ महिनामा शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप नाश भई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका कारण प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजनको सहभागिता रहने गरेको इतिहासकार श्रेष्ठ बताउँछन्।
यस वर्षको माधवनारायण मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको शालीनदी व्यवस्थापन समितिले जनाएको छ। शालीनदीमा स्नान तथा माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न स्थानका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन्।


















