आज दिउँसो १ बजेसम्म वीरगञ्जमा कर्फ्यु
चितवन, २२ पुष । वीरगञ्जमा धार्मिक र सामाजिक विवादका कारण उत्पन्न तनावका बीच कर्फ्यु आदेश जारी गरिएको छ। स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु लागू गरेको थियो, तर हाल यो आदेश दिउँसो १ बजेसम्म लम्ब्याइएको छ।
कर्फ्यु क्षेत्रको दायरा वीरगञ्ज महानगरपालिका क्षेत्रमा पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म फैलिएको छ। यस अवधिमा कुनै पनि प्रकारका सभा, जुलुस, वा प्रदर्शन गर्न नपाइने आदेश जारी गरिएको छ।
कर्फ्युको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। यदि घर बाहिर जान आवश्यक परेमा, सुरक्षाकर्मीको समन्वय गर्न वा १०० नम्बरमा फोन गर्न अनुरोध गरिएको छ।
कर्फ्यु अवधि भरी अत्यावश्यक सेवाका सवारी साधनहरू (जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानवअधिकार र कुटनीतिक नियोगका सवारी साधनहरू) र हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था गरिएको छ।
धार्मिक र सामाजिक मुद्दामा दुई समुदायबीचको तनावको कारण, वीरगञ्जमा आइतबारदेखि प्रदर्शन जारी रहेको छ र यसका कारण शहरमा अशान्ति बढेको छ।


















