रुकुम पूर्वमा हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
चितवन, १० माघ । रुकुम पूर्वमा परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। हिमपातले लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड बन्द हुँदा सवारीसाधन आवतजावत गर्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
काठमाडौँबाट छुटेका केही बसहरू सोही खण्डमा फसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए। उनका अनुसार हाल पनि निरन्तर हिमपात भइरहेको छ।
फसेका सवारीसाधन र यात्रुहरूको उद्धारका लागि प्रयास जारी रहेको र सडक खुलाउन भूमे गाउँपालिकासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। स्काभेटर प्रयोग गरी हिउँ पन्छाएर सडक खुलाउने तयारी भइरहेको पनि उनले जानकारी दिइन्।
रुकुम पूर्वका हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा भएको छ। हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भए पनि लामो समयपछि परेको वर्षा र हिमपातले किसानहरू भने खुसी भएका छन्।
आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरूको गहुँबाली पानी नपर्दा सुक्न थालेको अवस्थामा लामो समयपछि वर्षा हुँदा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताए।


















