प्रधानमन्त्री सुशीला कार्की र नर्वेली राजदूतबीच शिष्टाचार भेट
चितवन, १४ माघ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नर्वेली राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भेटमा नेपाल–नर्वेबीचको द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारको नेतृत्वमा आउनुपरेको उल्लेख गर्दै अहिले मुलुक क्रमशः सामान्य अवस्थामा फर्किंदै आगामी निर्वाचनतर्फ उन्मुख भएको बताइन्। उनले नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र सहयोगप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा राजदूत मियोसले नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नेतृत्वप्रति खुशी व्यक्त गर्दै आगामी निर्वाचन शान्तिपूर्ण र निर्बाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन्।
उनले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा नर्वेले गर्दै आएको सहयोग स्मरण गराउँदै भविष्यमा पनि यो सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।



















