स्वास्थ्य बीमामा सुधारको काम भइरहेको छ: मन्त्री डा. सुधा शर्मा
चितवन, १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले स्वास्थ्य बीमा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले सुधारका काम अघि बढाइरहेको बताएकी छन् ।
सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले स्वास्थ्य बीमामा देखिएका चुनौतीहरू समाधानका लागि नीति तथा कार्यविधि सुधार भइरहेको जानकारी दिइन् ।
मन्त्रालयमा आउने बजेटभन्दा बढी रकम स्वास्थ्य बीमाको दाबीमा खर्च हुन थालेकाले समस्या देखिएको उल्लेख गर्दै अनावश्यक उपचार, औषधि लेखाइ र दाबी प्रक्रियामा देखिएको दुरुपयोगलाई नियन्त्रण गर्न सरकारले कदम चालिरहेको उनको भनाइ थियो ।
स्वास्थ्य बीमाको वित्तीय बोझ हाल संघीय सरकारमाथि मात्र परेको बताउँदै मन्त्री शर्माले यसलाई दीगो बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् ।
उनले विपन्न नागरिकको उपचार गरेबापत अस्पतालले पाउने रकम तथा सामाजिक सेवा शीर्षकको भुक्तानी सरकारले तत्काल उपलब्ध गराउने स्पष्ट पारिन् । साथै मुटु उपचारको क्षेत्रमा सहिद गङ्गालाल अस्पतालले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत गुणस्तरीय सेवा निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राडा रवि मल्लले गङ्गालाल अस्पतालले मुटु रोगको रोकथाम, निदान र उपचारमा उच्चस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी दिए । विसं २०५६ सालमा नौ शय्याबाट सेवा सुरु गरेको अस्पतालले हाल ३०५ शय्यामार्फत बिरामीलाई सेवा दिइरहेको उनले बताए ।
यसैगरी अस्पतालका वरिष्ठ मुटु शल्य चिकित्सक डा. रामेश कोइरालाले हालका विभिन्न आन्दोलनका क्रममा गङ्गालाल अस्पताल प्राथमिकतामा नपरेको गुनासो व्यक्त गरे । उनले गत वर्ष मात्रै अस्पतालमा एक हजार ९९० जना बिरामीको सफल मुटु शल्यक्रिया सम्पन्न गरिएको जानकारी दिए ।


























