फागुन २१ को निर्वाचन भयरहित बनाउन सरकार प्रतिबद्ध
चितवन, १५ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।
निर्वाचन तयारीसम्बन्धी गतिविधिको जानकारी लिन आज निर्वाचन आयोग पुग्नुभएका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीमाथि कडाभन्दा कडा कारबाही गरिने स्पष्ट पार्नुभयो । मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी सबैको सुरक्षाका लागि भरपर्दो व्यवस्था मिलाइएको उहाँको भनाइ थियो ।
गृहमन्त्री अर्यालका अनुसार गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग समन्वय हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी कार्यान्वयन गरिरहेको छ । “आपराधिक तथा निर्वाचनविरोधी गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक निर्देशन दिइसकिएको छ,” उहाँले भन्नुभयो ।
छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीका सन्दर्भमा सरकारबाट प्राप्त सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गर्दै आयोगका तर्फबाट आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।
उहाँले संविधान, निर्वाचनसम्बन्धी कानुन तथा निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै निर्वाचन प्रक्रियामा दण्डहीनतालाई आयोगले कदापि स्वीकार नगर्ने बताउनुभयो ।
छलफलमा निर्वाचन आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भेटमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न समग्र शान्तिसुरक्षा र समय व्यवस्थापनका विषयमा पनि विस्तृत छलफल भएको थियो ।


























