कांग्रेस युवाको भावनासँगै बदलिएर आएको छ : प्रवक्ता चालिसे
चितवन, १६ माघ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल परिवर्तन हुँदै नयाँ पुस्ताको भावना र अपेक्षासहित अघि बढेको बताएका छन् ।
कांग्रेसले सुरु गरेको ‘कांग्रेस डबली’ संवाद कार्यक्रमअन्तर्गत शुक्रबार आयोजित पहिलो संस्करणमा बोल्दै उनले गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ कांग्रेस निर्वाचनमा होमिएको दाबी गरे ।
प्रवक्ता चालिसेले नवयुवाले चाहेको परिवर्तनलाई आत्मसात् गर्दै कांग्रेसले पार्टीको स्वरूप, शैली र आचरणमा सुधार ल्याएको उल्लेख गरे । “युवा पुस्तामा कांग्रेस आएको छ, आशाको सिर्जना भएको छ,” उनले भने, “कांग्रेस बदलेको मात्र होइन, देश बदल्ने अठोटका नीतिसहित आएको छ।”
उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिँदै नेतृत्वको अनुहार परिवर्तन मात्र पर्याप्त नहुने धारणा राखे । विचार र नीतिसहितको परिवर्तन स्थापित गर्न सके मात्र कांग्रेस थप बलियो हुने उनको भनाइ थियो ।


















