महोत्तरीका १२ जनाको मृत्युको कारण कोरोना संक्रमण होइन: प्रदेश २ सरकार
जनकपुरधाम,२१ वैशाख
महोत्तरीमा अज्ञात रोगबाट मृत्यु भएका १२ जनामा कोरोना भाइरसको संक्रमण नरहेको प्रदेश–२ सरकारले जनाएको छ।
विगत १० दिनदेखि दुई वटा बस्तीमा शंकास्पद रुपमा मानिसहरुको मृत्यु हुन थालेपछि उनीहरुमध्य दुई जनाको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नरहेको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।
महोत्तरीको भंगहा नगरपालिका वडा नंं. ६ र वडा नं. ७ तथा बर्दिबास नगरपालिकाको वडा नं। १२ मा केहि दिनको अन्तरालमा १२ जनाको मृत्यु भएपछि कोरोनाको संक्रमणबाट मृत्यु भएको हुन सक्ने आशंकामा स्वाब परीक्षण गरिएको सचिव घिमिरेले जानकारी दिए।
मृत्यु हुने मध्ये दुईजनाको स्वाब परीक्षण गर्दा रिपोर्ट कोरोना नेगेटिभ आएको हो। भंगहा नगरपालिका वडा नं। ७ का ४० वर्षीय र ५७ वर्षीय पुरुषको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको सचिव घिमिरेले बताए।
भंगहा नगरपालिका वडा नं। ७ का ४६ वर्षीय पुरुषले वैशाख १५ गते अत्याधिक मदिरा सेवन गरेको र त्यसपछि टाउको दुखेको र १७ गते मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ।
त्यस्तै वडा नं. ७ कै ५० वर्षीय पुरुष ग्याष्ट्रिक अल्सरको बिरामी रहेको र वैशाख १६ गते घरमै मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
वडा नं. ७ कै अर्का ५० वर्षीय पुरुषको विषादी सेवनको कारण मृत्यु भएको खुल्न आएको मन्त्रालयको भनाइ छ। परिवारका सदस्यका अनुसार उनले एक महिना पहिला विषादी सेवन गरेको र विरामी रहेकै अवस्थामा वैशाख १६ गते मृत्यु भएको हो।
वैशाख १६ गते मदिरा सेवन गरेर घर आएका वडा नं। ७ कै ४० वर्षीय पुरुष घर बाहिर शौच गर्न जाँदा रिङ्गटा लागेर लडेपछि अस्पताल लग्दा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ। उनको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।
त्यस्तै वैशाख १८ गते भंगहा नगरपालिका वडा नंं. ७ मै ६० वर्षीय पुरुषको पेट दुख्दा स्थानीय अस्पतालमा लग्दा प्रादेशिक अस्पतालमा रिफर गरेपछि बाटोमै मृत्यु भएको हो। उनको पनि स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।
त्यस्तै भंगहा नगरपालिका वडा नं. ७ कै ५५ वर्षीय एक महिला र ५८ वर्षीय पुरुषको मृत्यु भएकोमा उनीहरुको पनि कोरोना परीक्षण भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिए।
त्यस्तै बर्दिबास नगरपालिका वडा नं. १२ मृत्यु भएका ५५ वर्षीय एक जना भारत उत्तरप्रदेश राज्यका पुरुषको मृत्यु भएको हो। उनी बर्दिबासकै स्थानीय ईटा भट्टामा काम गर्दै आएका थिए। त्यस्तै वडा नं. १२ कै २६ वर्षीय पुरुष मिर्गौलाको बिरामी रहेको र उपचारको क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
त्यस्तै वडा नं. १२ कै ५५ वर्षीय महिला उच्च रक्तचापको विरामी रहेको र ब्रेन हेमोरेज भई उनको मृत्यु भएको खुल्न आएको हो। यहाँकै ५६ वर्षीय पुरुषको पनि मृत्यु हुँदा उनमा कोरोनाको लक्षण नरहेको बताइएको छ।
भंगहा नगरपालिका वडा नं. ७ मा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्य सेवा विभाग काठमाडौँका प्रतिनिधि, सामाजिक विकास मन्त्रालय प्रदेश २ का प्रतिनिधि र स्थानिय स्वास्थ्यकर्मीहरुको परिचालन गरिएको सचिव घिमिरेले जानकारी दिए।



















