स्वास्थ्य मन्त्रालयको निर्णय: सरकारी अस्पतालमा अब शनिबार–आइतबार दुवै दिन बिदा
चितवन, ०५ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सरकारी अस्पतालमा अबदेखि शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी का अनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार दुई दिन बिदाको व्यवस्था अस्पतालमा पनि लागू गरिएको हो।
यसअघि मन्त्रालयले आइतबार पनि बहिरङ्ग (OPD) सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। तर अब स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै तथा सरकारको दुई दिने बिदा नीतिअनुसार आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायत सेवाहरू आवश्यकताअनुसार पुनः तालिका (रिसेड्युल) गरिने जनाइएको छ।
यद्यपि, अन्तरङ्ग (इनडोर) तथा आकस्मिक सेवाहरू भने २४ घण्टा निरन्तर सञ्चालनमै रहनेछन्। बिदाको दिनमा बिरामीले असहजता भोग्न नपरोस् भनेर सम्भव भएसम्म सेवा उपलब्ध गराउन मन्त्रालयले अस्पतालहरूलाई आग्रह गरेको छ।
त्यस्तै, अस्पतालमा उपलब्ध नभएका सेवाका लागि बिरामीलाई नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने, एम्बुलेन्स सेवा सधैँ तयारी अवस्थामा राख्ने र बिदाका दिन उपलब्ध सेवाको विवरण वेबसाइट तथा सूचना पाटीमा सार्वजनिक गर्न पनि निर्देशन दिइएको छ।
























