आजदेखि नयाँ शैक्षिक सत्र शुरू, भर्ना प्रक्रिया औपचारिक
चितवन , १५ वैशाख । आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र औपचारिक रूपमा शुरू भएको छ। सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि शैक्षिक सत्र सञ्चालन गर्ने व्यवस्था गरिएको हो।
यसअघि वैशाख २ देखि सत्र शुरू हुने अभ्यास रहे पनि वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने प्रवृत्ति रोक्न र इन्धन आपूर्तिमा देखिएको असहजताका कारण सत्र सुरू मिति सारिएको थियो। तर केही स्थानीय तहको सहजीकरणमा वैशाख १५ अगावै भर्ना प्रक्रिया अघि बढाइएको देखिएको छ।
सरकारले चैत २२ गते निजी विद्यालयहरूले कानुनविपरीत असुल गरेको भर्ना तथा अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएको थियो। साथै, शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरीत लिइएका शुल्क फिर्ता गराउन स्थानीय तहलाई कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरिएको थियो।
यसैबीच, सर्वोच्च अदालतले वार्षिक परीक्षाको नतिजा प्रकाशन नभएसम्म र आवश्यक प्रमाणपत्र उपलब्ध नभएसम्म भर्ना सूचना ननिकाल्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने स्पष्ट पारेको छ।
मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि परीक्षा नतिजा प्रकाशनपछि मात्र नयाँ सत्रमा भर्ना सञ्चालन गर्न पूर्वनिर्देशन जारी गरिसकेको छ।



























