प्रधानन्यायाधीश नियुक्तिपछि सपना प्रधान मल्ल २० दिन बिदामा
चितवन, ०६ जेठ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदामा बसेकी छन् ।
आफूभन्दा जुनियर न्यायाधीश मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गरिएको भोलिपल्टदेखि मल्ल बिदामा बसेकी हुन् । शर्मा मंगलबार प्रधानन्यायाधीश नियुक्त भएका थिए ।
प्रधानन्यायाधीश नियुक्त हुनुअघि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकी मल्लले आफ्नै बिदा आफैं स्वीकृत गरेकी थिइन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीशहरूको बिदा प्रधानन्यायाधीशबाट स्वीकृत हुने व्यवस्था छ ।
सर्वोच्च अदालतको वरीयतामा मल्ल पहिलो रोलक्रममा थिइन् भने त्यसपछि कुमार रेग्मी र हरिप्रसाद फुँयाल थिए । उनीहरूलाई पछि पार्दै चौथो रोलक्रममा रहेका मनोजकुमार शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
नवनियुक्त प्रधानन्यायाधीश शर्माले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।




















