समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता प्रक्रिया सुरु
चितवन, ०४ जेठ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन सहकारीका ३७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।
फिर्ता पाउनेमा कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारीका ७ जना रहेका छन् । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई भुक्तानी गरिएको हो । अब बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः फिर्ता प्रक्रिया अघि बढाइनेछ ।
समितिका अनुसार समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ, जसमा अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना र सोभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ता भनेर वर्गीकरण गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि ऋण असुली पनि तीव्र बनाइएको बताइन् । समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोड रुपैयाँभन्दा बढी तिरेका छन् ।
ऋण असुली र बचत फिर्ता सँगसँगै अघि बढाइने समितिले जनाएको छ ।




















