शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण नगर्न ईक्यानको आग्रह
चितवन, ०४ जेठ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले केही सीमित घटनालाई आधार बनाएर सम्पूर्ण क्षेत्रलाई अपराधीकरण गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेको छ । साथै, शिक्षा क्षेत्रमा हुने ठगी, झुटा आश्वासन, नक्कली कागजात प्रयोग तथा अवैध आर्थिक कारोबारमा संलग्नमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्नेमा आफूहरू सहमत रहेको जनाएको छ ।
तर नियामक निकायहरूको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ईक्यानले वैधानिक संस्थाको प्रतिष्ठा र नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छविमा असर पर्ने चेतावनी दिएको छ ।
संघले अनुसन्धान व्यक्तिगत जिम्मेवारीमा केन्द्रित हुनुपर्ने, मिडिया ट्रायल रोक्नुपर्ने तथा स्पष्ट कानुनी सीमा निर्धारण गर्न सरकारसँग माग गरेको छ ।
ईक्यानका अनुसार शैक्षिक परामर्श क्षेत्रले करिब १ लाख ५० हजार रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जन र मानव पूँजी विकासमा योगदान पुर्याउँदै आएको छ ।
संघले डिजिटल शैक्षिक प्लेटफर्महरूको नियमन आवश्यक रहेको उल्लेख गर्दै स्पष्ट नीति र कानुनी ढाँचा बनाउन सरकारसँग आग्रह गरेको छ ।
























