आज देशभर विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाइँदै
चितवन, १५ जेठ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
जननिर्वाचित पहिलो संविधानसभाले विसं २०६५ जेठ १५ गते २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
हजारौँ नागरिकको बलिदान र जनआन्दोलनको बलमा स्थापित गणतन्त्रको जग विसं २०६३ वैशाख ११ गते पुनःस्थापित संसद्बाट तयार भएको मानिन्छ ।
तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत राजनीतिक दलहरूको मागअनुसार विघटित संसद् पुनःस्थापना गर्नुभएको थियो ।
राजसंस्थाको अधिकार कटौती, शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन हुँदै अन्ततः विसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । संविधान कार्यान्वयनसँगै अहिले सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकार सञ्चालनमा रहेका छन् ।














