बझाङमा मन्दिर निर्माणमा २२ लाख रुपैयाँ हिनामिना, ९ जनाविरुद्ध अख्तियारको मुद्दा
चितवन, १५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको दुर्गाथली गाउँपालिकामा मन्दिर निर्माणका नाममा भएको भ्रष्टाचार प्रकरणमा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित कार्यक्रमअन्तर्गत छविसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ निकासा गरिएको थियो। उक्त बजेटको खर्च, लेखा तथा लेखापरीक्षणको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो।
अनुसन्धानका क्रममा निर्माण भएकोभन्दा बढी काम भएको देखाई अस्वाभाविक दररेट कायम गरिएको, सम्झौताअनुसारको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल–भरपाईका आधारमा २२ लाख १ हजार ६६५ रुपैयाँ भुक्तानी गरिएको अख्तियारले जनाएको छ।
यस प्रकरणमा दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इञ्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहराविरुद्ध २२ लाख १ हजार ६६५ रुपैयाँ बिगो दाबी गरिएको छ।
त्यस्तै, छविसपाथीभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडा नं. ६ का तत्कालीन वडाध्यक्ष मोहनलाल विक तथा बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि समान बिगो, कैद सजाय र अन्य कानुनी कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
























